Thursday 10 October 2013


काठमाडौं, आश्विन २४ - राष्ट्रिय टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले क्रिस ह्यारिसको प्रशिक्षणमा नेपाली खेलाडीहरूको ब्याटिङमा सुधार आएको बताएका छन् । 'उनले हामीलाई प्राविधिक र मनोवैज्ञानिक पक्षलाई समेटेर सिकाएका छन्,' क्लासिक नेपाली ब्याट्सम्यानको उपनामले चिनिने ज्ञानेन्द्रले प्रशिक्षणपछि बुधबार दिउँसो कीर्तिपुर मैदानमा बताएका हुन् ।
नेपालले खेल्ने दुई वर्ल्डकप छनोटलाई मध्यनजर गर्दै नेपाल क्रिकेट संघ (क्यान) को हाई पर्फमेन्स प्रोग्राम (एचपीपी) टिमले ह्यारिसले १० दिने प्रशिक्षणका लागि काठमाडौं ल्याएको हो । भिक्टोरिया क्लबका प्रशिक्षक ह्यारिस अक्टोबर-२ मा आइपुगेका थिए, उनी शुक्रबार घर र्फकंदै छन् ।
ह्यारिसले नेपाली खेलाडीमा धेरै क्षमता रहेको बताए । 'यहाँ खेलाडीको ब्याटिङ देखेर म छक्क परें,' एचपीपीले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, 'मैले यूएईमा हुने ट्वान्टी-ट्वान्टी छनोट र न्युजिल्यान्डमा हुने वान-डे छनोटमा राम्रो प्रदर्शन गर्न खेलाडीहरूलाई सहयोग गरें ।'
ह्यारिसले नेपाली क्रिकेट अर्को चरणमा पुग्न लागेको बताए । उनले नेपाली ब्याट्सम्यानमा सुधारका लागि गरेको प्रयास प्रकाश पार्दै भने,'मैले पहिलो ब्याक-फुटमा आएर प्रहार गर्ने, बलरले मिडल स्टम ताकेर बलिङ गर्दा खेल्ने र फरक स्थानमा फरक बलरविरुद्ध कम पावरले पावर फुल शट सहजै प्रहार गर्ने जस्ता कुरालाई जोड दिएँ ।'
उनले नेपाली खेलाडीले छोटो समयमा धेरै सिकेको बताए । 'ह्यारिसले अस्ट्रेलिया र न्युजिल्यान्डमा जस्तो बाउन्सी पिच र यूएईमा जस्तो कम बाउन्स हुने पिचमा कसरी खेल्ने ? छिट्टै कसरी एटजस्ट हुने ? विपक्षी बलरलाई कसरी सहजै सामना गर्ने ? भन्ने जस्ता कुरा सिकाए,' दायाँ हाते ब्याट्सम्यान ज्ञानेन्द्रले भने ।
नेपाली टिमका प्रशिक्षक पुबुदु दसानायकेले ह्यारिसको प्रशिक्षणले खेलाडीलाई राम्रो प्रभाव पारेको बताए । 'उनले वान-डे र ट्वान्टी-ट्वान्टीलाई चाहिने सम्पूर्ण शट सिकाए,' नेपाललाई डिभिजन-४ बाट डिभिजन-२ मा पुर्‍याउन सफल पुबुदुले भने,'उनले ब्याट्सम्यानलाई ३ सय ६० डिग्री शट खेल्न पनि सिकाए । जसले गर्दा खेलाडीले मैदानका हरेक भागमा शट प्रहार गर्न सक्छन् ।'
ह्यारिसले नेपाली ब्याट्सम्यान स्क्वायर लेगमा स्विप शट खेल्न सक्ने बनाएको
बताए । 'उनीहरू कट शट पनि राम्रो खेल्दा रहेछन्,' उनले भने,'खेलाडीहरू अलराउन्ड क्रिकेटर रहेछन् ।' काठमाडौंमा व्यावसायिक रूपमा काम गर्न पाएकामा उनले खुसी व्यक्त गरे । उनले नेपाली टिमलाई वल्र्डकपमा छनोट हुनका लागि शुभकामना पनि दिए ।
ह्यारिसको प्रशिक्षणमा सम्पूर्ण खेलाडीले ध्यान दिएका ज्ञानेन्द्रले बताए । 'यसले पहिलेको भन्दा थप राम्रो गर्न सबैलाई प्रोत्साहन मिलेको छ,' उनले भने । साथै ज्ञानेन्द्रले नेपालमा रहेका चार श्रीलंकाली पहिलो श्रेणीका बलरले टिमलाई धेरै फाइदा भएको बताए । नेपालका राम्रो ब्याट्सम्यान भए पनि पहिलो अन्तर्राष्ट्रिय शतकको खोजीमा रहेका ज्ञानेन्द्रले भने,'हामीले सधैं आफ्नो टिमको बलरको मात्र सामना
गथ्यौर्ं । तर श्रीलंकन बलर आएपछि नयाँ अनुभव भएको छ । उनीहरूको पेस पनि बढी छ । त्यसले गर्दा हामी राम्रो टिमका पेस बलरसँग खेल्दा अझ सहज हुनेछौं ।'
अहिले नेपालमा रहेका एसियाली क्रिकेट काउन्सिल (एसीसी) का डेभलपमेन्ट अधिकृत रूमेश रत्नायके १२ वर्षदेखि नेपाली क्रिकेटसँग नजिक छन् । श्रीलंकाका रत्नायकेले नेपाली क्रिकेट पहिलेको भन्दा धेरै अघि बढेको बताए । उनले भने,'पहिला नेपाली ब्याट्सम्यानलाई एक छक्का हान्नु पनि ठूलो हुन्थ्यो । अहिले छक्का प्रहार गर्न मास्टर भइसकेका छन् ।' उनले नेपालको वल्र्डकप छनोट तयारी पहिले सोचे जस्तै नभए पनि अहिले आएर राम्रो हुन थालेको बताए । उनले भने,'१० मा ८ हुनु पथ्र्यो, यहाँ ६ रहेछ, अब दिल्ली टुरले गर्दा ६ बाट ८ मा पुग्न सक्छ ।'
उनले नेपालको यूएईमा वल्र्डकप छनोट हुने राम्रो मौका रहेको बताए । उनले नेपाली क्रिकेटमा अझै २० प्रतिशत राम्रो भए ठीक हुने औंल्याए । त्यो भनेको कति हो ? भन्ने प्रश्नमा उनले जवाफ दिए,'त्यो भनेको टेस्ट मान्यताप्राप्त देश श्रीलंकाको जस्तो स्तर
हो । अहिलेकामा २० प्रतिशत बढे नेपाल श्रीलंकासहित अन्य टिम जस्तो हुन्छ, जुन धेरै राम्रो हो ।'
नेपाली क्रिकेट टिममा अहिले ६ प्रशिक्षकले काम गरिरहेका छन् । पुबुदु, ह्यारिस र रत्नायके विदेशी हुन् भने नेपाली प्रशिक्षकमा जगत टमाटा, मन्जुर आलम र सामसङजंग थापा छन् । 'धेरै प्रशिक्षकले सिकाउँदा धेरै कुरा आउँछन् । त्यसलाई हामीले सही रूपमा लिएर प्रयोग गर्न सक्नुपर्छ,' ज्ञानेन्द्रले भने ।
- See more at: http://www.ekantipur.com/np/2070/6/24/full-story/377279.html#sthash.VmbwqCd0.dpuf